Tuesday, October 9, 2012

हृदयाघातबाट कसरी बच्ने ?


धूमपानले हृदयाघातको खतरा २ देखि ४ गुणा बढाउँछ । जति धेरै धूमपान गर्नुहुन्छ, हृदयाघातको खतरा त्यति नै धेरै हुन्छ । सानै उमेरदेखि धूमपान गरेमा खतरा झन् धेरै हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएको व्यक्तिले चुरोट/ बिंडी सेवन गरेमा हृदयाघातको खतरा अत्यन्त धेरै हुन्छ । मधुमेहले हृदयाघातको खतरा २-३ गुणा बढाउँछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । बिहान खाली पेटमा रगत जाँच गरी सुगरको मात्रा थाहा पाउनुस् । सुरुसुरुमा मधुमेहको केही लक्षण नहुन सक्छ । त्यसैले रक्तपरीक्षण नै मधुमेह थाहा पाउने उपयुक्त तरिका हो । 
उच्च रक्तचाप नियन्त्रण नगरेमा, हृदयाघातको खतरा लगभग २ गुणा बढी हुन्छ । अवसर पाएका बेलामा आफ्नो रक्तचाप 'ब्लड प्रेसर' जहाँ/जुनबेला हुन्छ, जचाउनुहोस् । तपाईंको रक्तचाप सामान्य (१४०/९०) भन्दा बढी छ भने  चिकित्सकको परामर्श लिनुहोस् । 
उच्च कोलेस्टेरोलले हृदयाघातको खतरा लगभग ३ गुणा बढाउँछ । कोलेस्टेरोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै धेरै हुन्छ । उच्च कोलेस्टेरोलको केही लक्षण हुँदैन, रगतको जाँच नगरेसम्म उच्च कोलेस्टेरोल छ कि छैन थाहा हुँदैन । त्यसैले बिहान खाली पेटमा रक्तपरीक्षण गरी आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनुहोस् । मधुमेह, उच्च रक्तचाप, मोटोपना र परिवारमा हृदयाघात भइसकेको व्यक्तिले आफ्नो कोलेस्टेरोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ । 
यदि तपाईं मोटो हुनुहुन्छ वा कम्मर वरिपरि धेरै बोसो रहेछ भने हृदयाघातको खतरा बढी हुन्छ । तपाईंले आफ्नो चाहिने तौल पत्ता लगाउन उचाइ -सेमि) बाट १०० घटाउनुहोस् । तपाईंको तौल योभन्दा कम हुनुपर्छ । जस्तैः १६० सेमि उचाइ हुँदा, तपाईंको तौल १६०-१०० . ६० केजीभन्दा बढी हुनु हुँदैन । आफ्नो पेटको मोटाइ नाइटोको वरिपरि नाप्नुहोस् र हिपको मोटाइ सबभन्दा चौडा भागमा नाप्नुहोस् कम्मरको नाप र हिपको नापको रेसियोलाई 'वेस्ट हिप रेसियो' भनिन्छ । यो रेसियो पुरुष र महिलाको क्रमश ०.९० र ०.८५ भन्दा कम हुनुपर्छ । 
परिवार, कार्यालय वा अर्थव्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयाघात निम्त्याउन सक्छ । डिप्रेसनले पनि हृदयाघात निम्त्याउन सक्छ । तपाईंलाई पनि डिप्रेेसन वा अत्यधिक तनाव छ कि छैन विचार गर्नुहोस् । नियमित रूपमा अत्यधिक मदिरा सेवन गर्नु वा एकदिनमै अत्यन्तै धरै मदिरा सेवन गर्नु -बिन्ज डि्रन्किङ) ले पनि हृदयाघात निम्त्याउन सक्छ । पुरुषले २० ग्राम र महिलाले १० ग्राम प्रतिदिनभन्दा बढी मदिराको सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 
यदि तपाईंलाई माथि उल्लिखित १ भन्दा बढी कारक तत्त्वहरू छन् भने हृदयाघाताको खतरा धेरै गुणा बढी हुन्छ । तपाईं आफ्नो दिनचर्यामा ससानो परिवर्तन गरेर हृदयाघातबाट सजिलैसँग बच्न सक्नुहुन्छ । तलका उपाय अपनाएर हृदयाघातबाट बच्नुहोस् । 
 त्तजैदेखि चुरोट/बिंडीको सेवन बन्द गर्नुहोस् । यसको सेवन बन्द गरेको दिनदेखि नै हृदयाघातको खतरा कम हुँदै जान्छ । 
 मिधुमेह, उच्च कोलेस्टेरोल, उच्च रक्तचापको नियन्त्रण गर्नुहोस् । यसका लागि नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, तौल घटाउने र आवश्यक परेमा औषधि प्रयोग गर्नुहोस् । 
 -नियमित रूपले ताजा फलफूल, प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्नोस् । 
-नियमित शारीरिक गतिविधि, दैनिक आधा घन्टा हिँडडुल गर्ने बानी बसाल्नुहोस् । -हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, ट्रेड मिलमा दौडिने । याद राख्नुहोस्: जटिल वा गाह्रो व्यायामले उल्टै मुटुलाई हानि पनि गर्न सक्छ ।
 -अत्याधिक मदिराको सेवन नगर्ने
 -मोटोपना भएमा तौल घटाउने र नियन्त्रण राख्ने । 
 -आफ्नो दैनिक आहारमा नुन, चिनी, घिउ र चिल्लो (फैट) को सेवन सकेसम्म कम गर्ने 
 -डिप्रेसन वा तनावलाई कम गर्ने, यसका लागि घर र कार्यालयमा सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने । 
लेखक मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरसँग आबद्ध छन् ।
-->
Nepali Date Converter

No comments:

Post a Comment